काठमाडौं - सुदूरपश्चिमको प्रसिद्ध धार्मिकस्थल कैलालीको गोदावरी धाममा पशुपतिनाथको झल्को दिने गरी कैवल्यनाथ मन्दिर (मोक्षद्वार) को स्थापना गरिएको छ । 

पञ्चमुखी शिवलिङगको मूर्तिसहित कलात्मक शैलीमा निर्माण गरिएको मन्दिरको एक विशेष समारोहका बीच १००८ स्वामी लोकानन्द महाराजले प्राण प्रतिष्ठा गरेका छन् ।

२०७३ सालदेखि मन्दिर निर्माण गरिएको थियो । संघ सरकारको शहरी विकास कार्यक्रमको सहयोगमा उपभोक्तामार्फत मन्दिर निर्माण गरिएको हो । झण्डैं डेढ करोड बढीको लगानीमा मन्दिर निर्माण गरिएको गोदावरी धाम विकास समितिले जनाएको छ । 
मन्दिर परिसरमा १००८ शिवलिङग स्थापना गरिएका छन्। 

मन्दिरमा पुगेर बिहीबार सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले पूजाआजा गरेका छन् । मन्दिर निर्माणमा सहयोग गर्नेहरुलाई पनि सम्मान गरिएको छ । गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले मन्दिर निर्माण भएसँगै यस क्षेत्रमा धार्मिक पर्यटन बढने विश्वास व्यक्त गरे। उनले लामो समयदेखि मन्दिर निर्माण गर्ने सपना पनि पूरा भएको बताए । 

गोदावरी धाम विकास समितिले गोदावरीमा कुम्भ मेला अर्ध कुम्भ मेलाको पनि आयोजना गरिसकेको छ ।